दैलेख : पश्चिम जाजरकोटको छेडागाडमा जिप दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । दैलेखका तीन जनाको मृत्यु भएको छ । ९ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।
छेडागाड नगरपालिका वडा नम्बर ५ दशेराको जोवाबाट वडा नम्बर ४ मा रहेको स्वास्थ्य संस्थामा बिरामी लिएर उपचार गर्न जाने क्रममा जिप दुर्घटनामा भएको बताइएको छ ।
कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप छेडागाड नगरपालिका–४ को भीरबाटी भन्ने ठाउँमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जिप चालक दैलेख भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, जाजरकोटकै छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवी सरा बुढा, अम्मरबहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढा, २ वर्षीय निशा अधिकारी रहेका छन् ।
प्रारम्भिक जानकारी अनुसार विवाहको लागि गएको जिप विवाहमा सरिक व्यक्ति बिरामी भएपछि उनलाई उपचार गर्नका लागि वडा नं. ४ मा रहेको स्वास्थ्य संस्थामा लगिँदै थियो । अकस्मात् दुर्घटना भएको हो विस्तृत विवरण आउन बाँकी नै छ ।






